
काठमाडौं । काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको हाे ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज (आइतबार) बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए।
दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।
काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताउनुभयो । उहाँले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने बताउनुभयो । उहाँले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताउनुभयो ।
यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजु-भाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् ।
त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।
त्यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना र टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै अर्काे वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ
प्रतिक्रिया दिनुहोस्