Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौं : मुख्यमन्त्री शाही


702
Shares

काठमाडौं । अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ ।

गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को ट्रफी अनावरण कार्यक्रममा उहाँले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी प्रचार गरिए पनि खेल क्षेत्रमा कर्णाली अगाडि रहेको बताउनुभयो ।

उहाँले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगनमा पुगेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफी कर्णालीमा भित्र्याउने गरी खेलाडीहरुलाई तयारी गर्न निर्देशन दिनुभयो ।

ट्रफी टुरका संयोजक ओलम्पियन दीपक विष्टले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशमा पुगेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी चुम्नका लागि कर्णाली प्रदेशका खेलाडीहरु तयारी अवस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेका ट्रफी कर्णालीमा नै फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नका लागि जहिले तयार रहेको भन्दै सदस्यसचिव सञ्ज्यालले खेलाडीहरुलाई कुनै पनि चिजको कमी हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद् लागिरहेको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री, राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, अल्ट्रा म्याराथन धावक मीरा राईलगायत सहभागी हुनुभएको थियो ।

Skip This