Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सिन्धुलीमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्ता


182
Shares

बुद्ध नेपाली,सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ।

दुर्घटनामा चालकसहित चार जनाको उद्धार गरिएको छ भने तीन जना बेपत्ता रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
आज कात्तिक १ गते बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा तीन जना महिलाको शव फेला पारेको थियो। चालकसहित दुई पुरुष, एक महिला र एक बालिकाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। चालकको भनाइअनुसार तीन जना अझै बेपत्ता रहेका छन्।

घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचार भइरहेको छ। घाइतेमध्ये ओखलढुंगाका करिब २९ वर्षीय चालक आशिष विष्ट बेहोस अवस्थामा रहेका छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। बेपत्ताको खोजी, उद्धार तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान, बेपत्ता व्यक्तिको विवरण तथा दुर्घटनाको कारणबारे थप आधिकारिक विवरण आउन बाँकी छ।

Skip This