Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार


0
Shares

चितवन । बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ ।
मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् ।

अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उनले जानकारी दिए । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन । गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उनले बताए ।

१५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उनले बताए । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ । विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् ।

चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताए । उनका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ । चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उनले जानकारी दिए ।

जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ । कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उनको भनाइ छ । उनका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ ।

गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ । यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उनले बताए ।

जसका कारण व्यापार वढ्ने आकलन छ । यस अघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

Skip This