
दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, जेठ २८ । कोरोनाभाइरसको उपचारका निम्ति उपयोगी ‘भ्याक्सिन’ बनाउन विश्वका शक्ति राष्ट्रहरुबीच होडबाजी चलिरहेको छ ।
यो बेला नेपाल पनि कोरोनाप्रतिरोधी औषधिको नमुना परीक्षणमा लागिरहेको पाइएको छ ।
विश्वका शक्ति राष्ट्रहरु कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उत्पादनको होडबाजीमा उत्रिरहेको बेला नेपालमा पनि भ्याक्सिन तथा भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि तयार भएको दाबी गरिएको छ ।
हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा. ललितकुमार लाल दासले ७० दिन लगाएर प्रतिरोधात्मक उपचारका लागि उपयोगी औषधि तयार पारेको दाबी गरेका छन् ।
रसायनशास्त्रीको दाबीले विश्व स्वास्थ्य संगठनकोसमेत ध्यान खिचेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कानुनी प्रक्रिया पूरा गरी डा. दासबाट तयार पारिएको नमुना प्रचलित पद्धतिअनुसार परीक्षणमा लाने तयारी गरेको छ ।
परिषद्ले नमुना परीक्षण गरिसकेपछि औषधिको नमुना विश्व स्वास्थ्य संगठनमा परीक्षणका निम्ति पठाइने बताइएको छ ।
उसो त कोरोनाभाइरसविरुद्ध भ्याक्सिन बनाउन विश्वभरका अनुसन्धानकर्ताहरुले निकै मेहनत गरिरहेका छन् ।
चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका देशहरुमा कोरोनाविरुद्धको भ्याक्सिन जनावरमा प्रयोग गरी मानिसमा पनि प्रयोग गर्न थालिएको छ । तर, भ्याक्सिनको प्रयोग पूर्णतः सफल भइसकेको छैन ।
विश्वभर अनुसन्धानमा रहेका कतिपय भ्याक्सिनहरु ‘क्लिनिकल ट्रायल’ चरणमा पुगिसकेको बताइन्छ ।
अनुसन्धानकर्ताहरुले सन् २०२१ मध्यसम्ममा भ्याक्सिन उपयोग गर्न सकिने सन्देशहरु प्रवाहित गरिरहेका छन् । यसले महाव्याधीबाट आक्रान्त विश्वको ध्यान कोरोनाविरुद्धको भ्याक्सिनप्रति तानिएको छ ।
प्रतिक्रिया दिनुहोस्