११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मृतक सुत्केरीको पिसिआर नेगेटिभ, भोलिबाट अस्पतालको सबै सेवा सुचारु


0
Shares

भक्तपुर, जेठ २७ । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट मंगलबार नेगेटिभ आएको छ ।

सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन ।

मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको उनले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिए ।

उनीहरुको पिसिआरको रिपोर्ट नआएसम्मका लागि क्वारेन्टिनमा राखिने भएको हो ।

अस्पताल आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएकाले कोरोना सङ्क्रमणको आशङ्का गरे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गए राति एक र आज दुई गरी तीनपटक परीक्षण गरी पठाएको रिपोर्टमा मृतक सुत्केरीमा कोरोना सङ्क्रमण नेगेटिभ आएको उहाँले जानकारी दिए ।

महिलाको आरडिटी परीक्षणमा पोजेटिभ आएको र मृत्युपछि कोरोना सङ्क्रमणको आशङ्कामा मृतकको स्वाब राति करीब १० बजे पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले मंगलबार दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताए ।

उनले भने, “दाहसंस्कार लागि शव पठाएका छौँ, अब अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि अस्पतालको सबै सेवा सञ्चालन गर्नेछौं ।  प्रसूति कक्ष भने ७२ घण्टापछि निर्मलीकरण गरेर मात्रै सञ्चालन गर्छौैं, अरू सबै सेवा भोलिबाटै शुरु हुन्छ ।”

मृतकका श्रीमान् र सन्तानबाहेक अरू आफन्त यहाँ नभएको र उनीहरुको आर्थिक अवस्था पनि ज्यादै कमजोर रही अन्त्येष्टी गर्ने अवस्था नभएको जानकारी पाएपछि दाहसंस्कारको व्यवस्था प्रशासन आफैँले गरेको छ । रासस