११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ठोस योजनाविना ‘लकडाउन’ उल्लंघन गर्नेक्रमले संक्रमण फैलिने खतरा


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, जेठ २७ । गत चैत ११ गतेदेखि लागू गरिएको ‘लकडाउन’को अवधि पछिल्लोपटक जेठ ३२ गतेसम्मका लागि बढाइएको थियो ।

तर, जेठ २० गतेपछि सर्वसाधारणले राजधानीलगायत देशैभर लकडाउन अवज्ञा गर्दै आएका छन् ।

लकडाउनको स्वरुप फेर्ने चर्चा सुरु भएको पनि एक साताभन्दा बढी भइसक्यो । सरकारले ठोस योजना नल्याउँदा कोरोना संक्रमणको खतरा बढेको विज्ञहरुको भनाइ छ ।

उपत्यकालगायत देशका प्रमुख सहरहरुमा मानिसको चहलपलह ह्वात्तै बढेको छ । बाटोघाटो, बजार, सडक, गल्लीमा मानिसको आवागमन पनि बढ्दै गएको छ ।

झन्डै तीन महिनादेखि घरमा थुनिएका सर्वसाधारण सडकमा आउन थालेका छन् । यसरी घरबाहिर निस्कनेहरुले स्वास्थ्य सावाधानी अपनाएको पनि पाइँदैन । जसका कारण कोरोना संक्रमणको खतरा बढेको विज्ञहरु बताउँछन् ।

माघ १० गते चीनबाट नेपाल आएका एकजनामा कोरोना संक्रमण फेलापरेको थियो । त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित भेटिए र वैशाखदेखि भने संक्रमणको दर विस्तारै उकालो लाग्दै गएको हो ।

कोरोना संक्रमणको दर नियन्त्रण गर्ने संरचना र जनशक्ति तयार पार्न सरकारलाई मनग्गे समय थियो । तर, सरकारले लकडाउनकै भर परेर बस्दाको परिणाम अहिले देखिँदै छ ।

एकातर्फ झन्डै तीन महिनाको लकडाउनले मानिसहरुमा दिक्दारी बढ्दो छ भने अर्कोतर्फ संक्रमणको पारोपनि उही गतिमा चढिरहेको छ ।

मानिसहरुको लापरबाही यसैगरी जारी रहने हो भने अबका दिन झन् जोखिमयुक्त हुने चेतावनी दिन्छन्, जनस्वास्थ्यविद् डा. अनुप सुवेदी ।

चीन, इटाली, फ्रान्स, न्यूजिल्यान्डलगायतका देशहरु लकडाउनको समयको पूर्ण सदुपयोगले संक्रमण नियन्त्रण गर्न सफल भए ।

नेपालमा लकडाउन थपिने र संक्रमितको संख्या थपिने सँगसँगै भइरहेको छ । सरकार लकडाउनको स्वरुप परिवर्तन गर्ने वा व्यवस्थित गर्ने भन्नेमा नराम्ररी चुकेको छ ।

आर्थिक स्रोत गुमाउँदै गएका सर्वसाधारणले बाध्यताले लकडाउन उल्लंघन गरेको हुनसक्ने धारणा छ, जनस्वास्थ्यविद् डा. सुभास प्याकुरेलको ।

डा. सुवेदी नेपालमा कोरोनाबाट हुने मृत्युदर अहिलेसम्म कम रहेपनि जोखिम भने उच्च रहेको बताउँछन् ।

अबको डेढ/दुई वर्षसम्म नै सतर्कता अपनाउनुपर्ने भन्दै उनले सरकारले ठोस योजना ल्याएर लकडाउन खोल्दै जानुपर्ने बताउँछन् ।

संक्रमणको पछिल्लो दृष्यले नेपालमा जोखिमको चरण उच्च रहेको प्रस्ट देखाउँछ । कोरोना केही होइन भन्ने भ्रम फैलिने र लापरबाही बढ्ने हो भने अवस्था भयावह नहोला भन्न सकिँदैन ।

त्यसलै तत्काल ठोस योजना लागू गर्नुपर्दछ भने जनस्तरबाट पनि आवश्यक सावधानी अपनाउनु जरुरी छ ।

भिडियो हेर्नुहोस्