
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, जेठ २३ । सरकारले ‘क्वारेन्टाइन’मा बसेका सबै व्यक्तिको ‘पीसीआर’ परीक्षण नगर्ने भएको छ ।
क्वारेन्टाइनमा बस्नेको संख्या डेढ लाख नाघेपछि स्वास्थ्य मन्त्रालयले सबैको पीसीआर परीक्षण सम्भव नहुने भन्दै ‘आरडीटी’मात्रै गरेर घर पठाउने नीति लिएको हो । विज्ञहरुले भने सरकारी नीतिलाई गलत भनेका छन् ।
जेठको पहिलो साता भारतबाट आएका सुर्खेतका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भयो ।
दुई सातासम्म सुर्खेतको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनी गत जेठ २१ गते घर फर्किएका थिए ।
आरडीटी परीक्षण ‘नेगेटिभ’ आएर घर गएका उनको बिहीबार बिहान २ बजे मृत्यु भयो । मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।
यस्तै, जेठ २३ गते जुम्ला जिल्लाको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको पनि मृत्यु भयो । बर्दियाबाट जेठ २१ गते जुम्ला गइ क्वारेन्टाइनमा बसेका उनी दमरोगीसमेत रहेका थिए ।
जेठ ३ गते नेपालगन्जस्थित क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको पनि कोरोना संक्रमणका कारण मृत्यु भयो । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको झाडापखाला र ज्वरोका कारण ज्यान गएपनि उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
दैलेखको क्वारेन्टाइनमा एक साता बस्दा पनि स्वास्थ्य परीक्षण हुन नसकेका युवकको मृत्यु भएपछि परीक्षण गर्दा कोरोना पुष्टि भयो ।
पछिल्लो समय क्वारेन्टाइनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । तर, सरकारले भने क्वारेन्टाइनमा रहने सबैको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले परीक्षणका लागि नयाँ निर्देशिका नै बनाएर यस्तो नीति लिएको हो ।
जसअनुसार संक्रमण फैलिएको समुदाय, ‘आइसोलेसन’मा बसेका व्यक्ति र संक्रमितको सम्पर्कमा आएकाहरु, उपचारमा संलग्न चिकित्सक, एम्बुलेन्सचालक, नर्स, दीर्घरोगी, श्वास–प्रश्वासका बिरामी र लक्षण देखिएकाहरुकोमात्रै पीसीआर गरिनेछ । अन्य अवस्थामा १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी गरिनेछ ।
जनस्वास्थ्यविद् डा. पदमबहादुर चन्द संक्रमण फैलिएका देशबाट आएका सबैको पीसीआर परीक्षण गराउनुपर्ने बताउँछन् ।
क्वारेन्टाइनबाट नै संक्रमण फैलनसक्ने सम्भावना पनि पछिल्लो समय बढ्दै गएको छ ।
डा. चन्द क्वारेन्टाइन भनेको संक्रमण हुनबाट जोगाउने स्थल भएको भन्दै ‘त्यहीँबाटै फैलन्छ भने क्वारेन्टाइन किन सञ्चालन गर्नुपर्यो ?’ भन्छन् ।
संक्रमणको दर बढ्दै गएको समयमा सरकारले परीक्षणको दायरा खुम्चाउन खोज्नु भने गलत हो ।
दिनहुँ ३०० भन्दा बढीमा संक्रमण देखिएको समयमा आरडीटी परीक्षणलाईमात्र जायज मानेर घर पठाउँदा त्यसले झन् जोखिम बढाउनेछ ।
प्रतिक्रिया दिनुहोस्