
कञ्चनपुर । सरकारले कोरोनाको माहामारीका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेपनि कञ्चनपुरका स्वास्थ्यकर्मीहरु भने महिनौदेखि तलब पाउन सकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयले समयमै तलब निकासा नगरेपछि स्वास्थ्यकर्मीहरु महिनौदेखि तलब बिना नै महामारी विरुद्ध खटिएका छन् ।
जेठ १५ मा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत् महामारी नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो ।
त्यसअघि ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकलेसमेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम अवधिभरका लागि प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
तर, स्वास्थ्य मन्त्रालयले गत फागुन यता कुनै पनि पालिकाहरुमा तलब वापतको रकम निकासा गरेको छैन ।
अन्य पालिकाहरुले कार्यपालिकाको निर्णय अनुसार महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई स्रोत भर्ना हुने गरी तलब दिएको पाइएपनि बेदकोट नगरपालिकाका स्वास्थ्यकर्मीहरु भने चार महिनादेखि तलब बिना महामारी विरुद्ध खटिएका हुन् ।
चार महिनादेखि तलब निकासा नहुँदा आर्थिक समस्यासँगै स्वास्थ्यकर्मीको मनोबलसमेत घट्दै गएको सुडा स्वास्थ्य चौकीका प्रमुख विशेश्वर भट्टले बताए ।
यता बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भने माहामारी विरुद्ध स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि अग्रपंक्तिमा खटिएको बताउदै मन्त्रालयले नै रकम निकासा नगरेकाले तलब दिन नसकिएको बताए ।
उनले लकडाउनका कारण राजस्व वापतको रकम उठ्न नसकेकाले नगरपालिका आफैले तलब खुवाउन सक्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्