११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


रौतहटमा एकैदिन थप ६५ जनामा कोरोना संक्रमण


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, जेठ २२ । रौतहटमा बिहीबार एकैदिन थप ६५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

योसँगै रौतहटका १८ ओटै पालिकाको ‘क्वारेन्टाइन’मा बस्दै आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार एकैदिन ईशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगरपालिकाका आठजना, गढीमाई नगरपालिकाका सातजना, फतुवा विजयपुर नगरपालिकाका एकजना, माधवनारायण नगरपालिकाका एकजना, चन्द्रपुर नगरपालिकाका एकजना र दुर्गाभगवती गाउँपालिकाका एकजनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेकाअनुसार संक्रमण देखिएका सबैजना रोजगारी गरेर भारतबाट फर्किएकाहरु हुन् ।

भारतबाट फर्किएपछि उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका जनाइएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको कुल संख्या ३८३ पुगेको छ ।

भारतबाट दैनिक घर आउनेको संख्यामा वृद्धि भइरहेको छ । प्रहरी प्रशासनले सीमामा निगरानी बढाएको छ । स्वदेश फर्किएकालाई सिधै सम्बन्धित पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा लगेर राख्ने गरिएको छ ।

स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा रहेकाको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरेर पायक पर्ने प्रयोगशालामा पठाउने गरिएको जनाइएको छ ।