
काठमाडौं, जेठ २१ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार ३० ओटा भेन्टिलेटर सहयोग गरेको छ ।
कोरोनाभाइरसको संक्रमण भएका बिरामीहरुको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यसहित चुजी फाउन्डेसनले हेल्थ इन्भायोरोमेन्ट एन्ड काइभेट एक्सन फाउन्डेसन ‘हेकाफ ३६०’ मार्फत् सरकारलाई ३० ओटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो ।
यसबाहेक पीपीई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लासलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए ।
‘अतिसंवेदनशील बिरामीलाईमात्र अस्पतालमा उपचार’
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमण फैलिँदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अतिसंवेदनशील बिरामीलाईमात्र अस्पतालमा उपचार गरिने बताए ।
सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितहरुलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने मन्त्री ढकालले बताए ।
पछिल्लो समय देशभर दुई हजार २०० भन्दा बढीमा कोरोना संक्रमण फेलापरेको छ ।
कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सेवासहितको उपचारकक्ष आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्