Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


काठमाडौँको बूढानीलकण्ठका दुई जनाले जिते कोरोना, सिल गरिएको क्षेत्र खुल्ला


0
Shares

काठमाडौं ।  काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो ।

तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । ती युवती १५ दिनमा घर फर्किएकी हुन् । 

यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषलाई जेठ १२ गते कोभिड–१९ पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखी उपचार गरिएकामा दुई पटकसम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि पाँच दिनमा घर फर्काइएको छ ।

युवकमा कोरोना पुष्टि भएसँगै बूढानीलकण्ठ –३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको थियो ।

युवक कोरोना नेगेटिभ भई घर फर्किएपछि उक्त क्षेत्र आजदेखि खुला गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।रासस