Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ललितपुर सुनाकोठीकी सुत्केरीलाई कोरोना सङ्क्रमण


0
Shares

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनी यही जेठ ११ गते ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् ।

जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा शनिबार पोजेटिभ देखिएको हो ।

महिला यही जेठ १५ गते अस्पतालबाट डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए ।

उनले भने “हालसम्म महिलाको स्वास्थ्य अवस्था सामान्य नै छ, उनी सुनाकोठीमै बसिरहेका कारण हामीले भर्खरै यी महिलाका परिवारलगायत त्यहाँका वडाध्यक्षसँग गई कुरा गरेर सावधानी अपनाउने विषयमा छलफल गरेर आयौं, महिलाको घरमा भएका अन्य पाँच जनालाई मास्कलगायत सामग्री दिएर क्वान्टिनमा बस्न अनुरोध पनि गरेका छौं ।” पाँच दिनपछि उनीहरुको कोरोना परीक्षण गरिने गेलालले जानकारी दिए ।

किष्ट अस्पतालमा महिलाको उपचारमा संलग्न चिकित्सकलाई पनि अस्पताल वा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको गेलालको भनाइ छ ।

सुत्केरी गर्न राखेको कक्षमा चारदेखि पाँच घण्टा बन्द गरी सङ्क्रमण हटाउने र औषधि छर्किएर पुनःसञ्चालन गरिनेछ ।

किष्ट अस्पतालमा गत बुधबार मात्र वडा नं २२ बुङ्मतीका ५७ वर्षीया पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।रासस