Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चौरजहारी घटनाका दोषीले दण्ड–सजाय पाउने सुनिश्चितताको खोजी


0
Shares

दीपेन्द्र अधिकारी र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, जेठ १३ । अन्तर्जातीय विवाहकै कारण दलित समुदायका मानिसको हत्या गर्नेदेखि बेपत्ता पार्नेसम्मको घोर अमानवीय कृत्य फेरि एकपटक रुकुम पश्चिमको चौरजहारीमा देखिएको छ ।

काभ्रेपलाञ्चोक, सप्तरी, झापा र तनहुँमा कथित उच्चजातिसँग प्रेमसम्बन्ध राखेको वा विवाह गरेकै कारण दलित समुदायका युवा–युवतीलाई क्रूर यातना दिनेदेखि हत्या गर्नेसम्मका आपराधिक कृत्यका दोषीहरुले सजाय नपाइरहेको बेला चौरजहारी घटनाका दोषीले दण्ड–सजाय पाउने सुनिश्चितताको खोजी भएको छ ।

उच्चजातिका केटीसँग विवाह र ‘डिभोर्स’ प्रकरणमा चार वर्षअघि काभ्रेपलाञ्चोकस्थित पाँचखालका अजित मिजारको शंकास्पद मृत्यु भयो ।

त्यो घटनाको निष्पक्ष छानबिन हुन नसक्दा अझैसम्म उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै छ ।

गैरदलित युवतीसँग प्रेमसम्बन्ध राखेकै कारण २०६८ साल भदौमा दैलेखका सेते दमाईं मारिए ।

२०६८ सालको माघ १६ गते सप्तरीको पन्सेरा–३ का शिवशंकर दासको शंकास्पद मृत्युको कारण पनि अन्तर्जातीय प्रेम र विवाह नै थियो ।

अन्तर्जातीय प्रेमविवाह परिवार र समाजले अस्वीकार गरेपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एकैसाथ आत्महत्या गरे ।

तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाउन पुगिन् ।

कतिपय यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउने कार्यमा राज्य चुकेको दलित अभियन्ताहरुले बताउने गरेका छन् ।

त्यसैको परिणामस्वरुप तीन युवक मारिएको र तीनजना बेपत्ता पारिएको चौरजहारीको जघन्य अपराध प्रकरणमा संसददेखि सडकसम्म एकैसाथ आवाज घन्किन पुगेको छ ।

संसदमा सत्तापक्षदेखि विपक्षी सांसदहरुले आवाज उठाए भने दलित अभियन्ताहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरे ।

चर्को दबाबपछि सरकारले घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाको स्वतन्त्र छानबिन गर्ने बताएको छ ।

यस्ता घटना हुँदा एकपछि अर्को आयोग बन्ने तर दोषीले सजाय नपाउने विगतको अनुभवका भुक्तभोगी अभियन्ताहरुले संवैधानिक अधिकारको सुनिश्चिताका लागि दबाब बढाएका छन् ।

छुवाछूत अन्त्यको कानुनी र संवैधानिक प्रबन्ध गरिएको लामो समयसम्म कथित उच्चजातिसँग प्रेमसम्बन्ध र विवाह गरेकै कारण दलित समुदायमाथि हुँदै आएको अपमानजनक व्यवहारदेखि हत्यासम्मका कृत्य मानवसभ्यताविरोधी हर्कत हो ।

मानवताविरोधी यस्ता अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याउन रत्तिभर विलम्ब गर्नुहुँदैन ।

छानबिनका नाममा एकपछि अर्को आयोग बनाउने र बर्बर घटनालाई सामसुम पार्ने खेल अब बन्द हुनुपर्दछ ।

भिडियो हेर्नुहोस्