
कैलाली । भारतमा अलपत्र परेका नेपालीहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट बिहीवार पनि उद्धार गरिएको छ ।
कोरोना भाइरसका कारण भारतमा रोजगारी गुमाएर स्वदेश फर्किन सीमा नाकासम्म आइपुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्धार गरिएको हो ।
गौरीफन्टा नाकाबाट दुई हजार चार सय ७८ जनालाई भित्र्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुमध्ये ८ सय २१ जनालाई अहिले पनि धनगढी उप–महानगरपालिका वडा नम्वर २ को नवदुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको र अन्यलाई सम्बन्धित पालिकामा पठाइएको छ ।
धनगढीमै रहेका नेपालीलाई आज स्थानीय तहसँग समन्वय गर्दै सम्बन्धित पालिकासम्म पठाउने तयारी भइरहेको छ ।
यस्तै सीमाबाट उद्धार गरिएका झण्डै ६ सय जनाको र्यापिड टेस्ट गर्दा ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
११ जनामा एन्टिबडी देखिएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको सीमामा स्थापित स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
कोरोनाको लक्षण देखिएका थप ६ जनालाई पनि अस्पताल भर्ना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट ८ सय ५० मजदुरलाई स्थानीय प्रशासनले उद्धार गरेको थियो ।
बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याइएकोमा बिहीबार भने सीमा नाकामै आरडिटी टेस्ट गरिएको हो ।
तर र्यापिड किटको अभावले सबैको परीक्षण गर्न नसकिएको र किट सकिएपछि अन्यको स्थानीय तहमै टेस्ट गराउने सर्तमा उद्धार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्