Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


शिक्षकलाई कोरोना देखिएपछि अस्पताल सिल


0
Shares

रुपन्देही, जेठ ५ । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ ।

यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका मदानेका ४१ वर्षीय शिक्षकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए ।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए ।

मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उनीमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । रासस 

 

Skip This