
काठमाडौं, जेठ ३ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनैपनि अस्पतालकर्मी ‘कोभिड–१९’ बाट संक्रमित नभएको जनाएको छ ।
शिक्षण अस्पतालमा कार्यरत् कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खन्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा संक्रमण नदेखिएको जानकारी दिए ।
सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने भन्दै उनले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गरे ।
शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो ।
ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ ।
संक्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवनमा बनाइएको ‘आइसोलेसन वार्ड’मा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्