१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा


832
Shares

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् ।

कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।

बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि आज बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको बेलका नगरपालिकाले जनाएको छ । योसँगै नगरपालिका वडा नम्बर २ र ३ का सयौं बस्ती जोखिममा परेका छन् । कोशीले केही घर डुबाएको छ ।

नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ । डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन् । २०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि यो क्षेत्रमा बस्ती बसेको थियो । ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समात्दा सयौं परिवार विस्थापित हुने देखिएको छ ।

कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुरसँगै सुनसरी र सप्तरीका केही बस्तीसमेत डुबानमा पर्नेछन् । कटान नरोकिएको बुधबार दिनभरीमा मूल भँगालो बस्तीमा पस्ने बताईएको छ ।