२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सेनाले ल्याएको स्वास्थ्य सामग्री बल्ल खासा आइपुग्यो


0
Shares

काठमाडौं । नेपाली सेनाले किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको छ । आज ती सामग्री खाशाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने छन् ।

नेपाली सेनाका १० कन्टेनर सामान खासा आइपुगेको जानकारी पाएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

आज ती सामान नेपाल भित्रनेछन् भने भोलिसम्म काठमाडौं आइपुग्ने प्रमुख खत्रीले बताए । खासा बजार तातोपानी नाकाबाट १० किलोमिटर माथि पर्छ ।

अति आवश्यक स्वास्थ्य सामग्री २ वटा विमान चार्टर गरेर ल्याउने सेनाको तयारी भएतापनि सडक मार्गबाट ती सामग्री छिट्टो आइपुगेका हुन् ।

विमानबाट ल्याउने सामग्री गाोन्जाउ विमानस्थलमा भन्सार जाँच भइसकेपनि चिनियाँ पक्षले विमान लिएर आउनु नभनेका कारण अड्किएको बताइएको छ ।

सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसको लागि २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो ।

सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।