Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


क्वारेन्टाइनका महिलालाई मर्यादा किट वितरण


13
Shares

प्युठान, जेष्ठ १ । यहाँका क्वारेन्टाइनमा रहेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री किट वितरण गरिएको हो ।

जिल्लाका नौ स्थानीय तहमध्ये बिहीबारसम्म मल्लरानी गाउँपालिकाका दुई, झिमरुक गाउँपालिकाका १० र प्युठान नगरपालिकाका १७ गरी २९ जनालाई मर्यादा किट वितरण गरिएको छ ।

झोलामा महिलालाई दैनिक आवश्यक पर्ने लुंँगी, ब्लाउज, पेटीकोट, धोती, भित्री कपडा, सेनेटरी प्याड, शारीरिक सरसफाइका सामान, तौलिया, चप्पल र लाइटलगायत सामग्री दिइएको छ ।

कुल एक सय महिला र दश किशोरीका लागि ११० किट वितरण गर्न थालिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष९यूएनएफपिए० प्युठान जिल्ला कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले जानकारी दिए ।

“क्वारेन्टाइनमा रहेका महिलामाथि यौन हिंसा र स्रोत साधन अभाव हुन सक्छ”, कार्यक्रम अधिकृत श्रेष्ठले भने, “महिलालाई सहज होस् भनेर महिलामैत्री सामग्री वितरण गरेका हौँ ।”

क्वारेन्टाइनमा महिलामैत्री सामग्री पाउन कठिनाइ हुने भएकाले यी सामग्रीे वितरण गरिएको कार्यक्रम अधिकृत श्रेष्ठको भनाइ छ ।

जिल्ला समन्वय समितिको पहल, नेपाल रेडक्रस सोसाइटीको सहजीकरण र युएनएफपिए जिल्ला कार्यक्रमको सहयोगमा जिल्लाभरका क्वारेन्टाइनमा रहेका महिला र किशोरीका लागि किट वितरण गर्न थालिएको हो ।

क्वारेन्टाइनमा महिलाको संख्या वृद्धि भई माग भएमा थप वितरण गर्न सकिने (युएनएफपिए) जिल्ला कार्यक्रमले जनाएको छ । रासस