
काठमाडौं, वैशाख ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएकाले नेपाल पनि सामान्य अवस्थामा नरहेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकजना स्वास्थ्यकर्मीसमेत संक्रमित भइसकेकाले ‘सामान्य परिस्थिति होइन’–भने ।
उनले बुधबार कपिलवस्तु र नेपालगन्जका दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २१९ पुगेको पनि पुष्टि गरे ।
देशभर २१ हजार ३४० जनाको ‘पीसीआर’ परीक्षण गरिएको छ भने ‘आरडीटी’बाट ६० हजार ३१९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
बुधबार बुटवलका २५ वर्षीय पुरुष र चितवनकी ६३ वर्षीया महिलाले कोरोना संक्रमणलाई पूर्णरुपमा जितेर ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ ।
यस्तै, देशभर संक्रमित र सम्भावित गरी २४५ जना ‘आइसोलेसन’कक्षमा रहेका छन् ।
प्रदेश नम्बर–२, प्रदेश नम्बर–५ र १ नम्बर प्रदेशमा संक्रमितको संख्या बढी रहेको छ ।
हाल देशभर १४ हजार ३१३ जना ‘क्वारेन्टाइन’मा रहेका जनाइएको छ ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्