
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख ३१ । नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको झन्डै तीन महिनापछि संक्रमितको संख्या २०० नाघेको छ ।
संक्रमितमध्ये भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरु धेरै छन् ।
यस किसिमको संक्रमणलाई जनस्वास्थ्य विज्ञहरुले संक्रमण तेस्रो चरणमा प्रवेश गरेको जनाएपनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण समुदायमा प्रवेश नगरेको दाबी गरेको छ ।
गत माघ ९ गते चीनबाट फर्किएका एक युवकमा संक्रमण पुष्टि भएसँगै नेपालमा पहिलोपटक कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
त्यसको झन्डै दुई महिनापछि फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखियो ।
त्यसपछि संक्रमण तेस्रो, चौथो व्यक्तिमा देखिँदै अहिले एकैदिन ८३ जनासम्ममा संक्रमण देखिन थालेको छ । जसलाई विज्ञहरुले संक्रमण समुदायस्तरमा नै फैलिएको बताउन थालेका छन् ।
पछिल्लो समय संक्रमितको संख्या हेर्दा अब संक्रमण नियन्त्रणबाहिर पुगिसकेको त होइन ? भने प्रश्न उठेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु संक्रमण अझै बढ्नसक्ने बताउँछन् । तर, संक्रमण थप बढ्दै जाँदा यसको नियन्त्रण कसरी गर्ने ? संक्रमण यही गतिमा बढ्दै जाँदा हाम्रो स्वास्थ्य संरचनाले धान्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न महत्वपूर्ण छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले एक लाखजनासम्म संक्रमण देखिएपनि उपचार गराउन सकिने क्षमता रहेको दाबी गर्छन् ।
देशभर हाल ३० हजार ७६ ओटा ‘आइसोलेसन’कक्ष र १६ सय ‘आइसीयु’कक्ष तयारी अवस्थामा रहेको भन्दै उनले संक्रमितको संख्या बढे भने जोखिम देखिएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने र अरुलाई घरमा नै आइसोलेसनमा राखिने बताए ।
संक्रमित सबैलाई अस्पताल राख्नुनपर्ने भन्दै डा. कार्कीले नेपालमा संक्रमण देखिएका कसैलाई पनि अस्पताल भर्ना गर्नुनपर्ने अवस्थामा रहेको जिकिर गरे ।
मन्त्रालयले जोखिमको खतरा अझ बढ्नसक्ने जनाएपनि नियन्त्रण भने आफ्नो हातमा नरहेको तर्क गरेको छ ।
विभिन्न नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेक्रम नियन्त्रणमा आउन सकेको छैन भने विदेशमा रहेका सबै नेपालीलाई ल्याउनुपर्छ भन्ने आवाज उठिरहँदा यसबाट जोखिम थप बढ्नसक्ने डा. कार्कीको तर्क छ ।
नेपालमा देखिएका संक्रमणका ‘केस’हरुसँगै संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको वा संक्रमण पुष्टि व्यक्ति नै विदेशबाट आएकोजस्तो देखिने भएकाले संक्रमण समुदायमा नै गइसक्यो भन्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
‘समुदायमा जानु भनेको भयावह अवस्था हुनु हो’–भन्छन्, स्वास्थ्य सल्लाहकार डा. कार्की ।
यसरी संक्रमितको संख्या दिनानु बढ्दै जाँदा स्थिति भयावह बन्दैछ भन्ने संकेत भने गरेको देखिन्छ । त्यसैले बेलैमा संक्रमण नियन्त्रण र रोकथाममा थप प्रभावकारी कदम चाल्दै नयाँ ‘मोडालिटी’ बनाउन भने जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्