Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘क्लिनिकल ट्रायल’मा नेपाल पनि सहभागी हुने


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, वैशाख २७ । कोरोनाभाइरसविरुद्धको उपचारको खोजी गर्नेक्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विभिन्न औषधिहरु प्रयोगको अभियान चलाएको छ ।

डब्ल्युएचओले त्यस्तो प्रयोगमा सहभागी हुन नेपाललाई पनि आह्वान गरेको छ ।

प्रयोगका लागि दक्ष जनशक्ति तथा प्रयोगशालाहरुको अभाव भएकाले नेपाल तेस्रो चरणको प्रयोगमा मात्रै सहभागी हुने भएको छ ।

विश्वका १०० भन्दा बढी देशले ‘कोभिड–१९’ विरुद्ध ऐक्यबद्धता जनाइसकेको ‘क्लिनिकल ट्रायल’मा नेपाल पनि सहभागी हुने भएको हो ।

यसबाट नेपालमै संक्रमितहरुमा औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको छ ।

कोरोना महामारीविरुद्ध लड्न तत्काल खोप तथा औषधि नहुँदा संक्रमण नियन्त्रण गर्न विश्वलाई नै चुनौती बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पनि तेस्रो ट्रायल अभियानमा सहभागी गर्न आह्वान गरेको थियो ।

यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम गर्न अनुमति दिइसकेको छ ।

विश्वका एक हजार संक्रमित सहभागी हुने उक्त ट्रायलमा डब्लुएचओले अन्य रोगहरुविरुद्ध प्रयोग भइरहेको औषधिको परीक्षण गर्नेछ ।

जसअन्तर्गत्, इबोला, मलेरिया, एचआईभीलगायत रोगविरुद्ध प्रयोग भइरहेका रेम्डेसिभर, क्लोरोक्विन हाइड्रोअक्साइड, लोपिनाभिर–रिटोनाभिर र लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा औषधिहरु डब्लुएचओले स्वीकृत गरेको छ ।

परिषद्काअनुसार नेपालमा पहिलो र दोस्रो चरणको ट्रायलका लागि ल्याब तथा दक्ष जनशक्तिको अभाव देखिएकोले पनि तेस्रो चरणको क्लिनिकल ट्रायललाई अपनाउने तयारी गरिएको छ ।

तर, जोखिम उत्तिकै हुने भएकोले पनि नेपालमा संक्रमितहरुको स्वीकृत तथा आवश्यक प्रक्रिया पूरा गरेरमात्र अघि बढ्ने परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली बताउँछन् ।

क्लिनिकल ट्रायल नगरी कुनैपनि औषधि र भ्याक्सिन प्रमाणित गर्न सकिँदैन । त्यसैले पनि डब्लुएचओले कोरोना संक्रमणलाई तत्काल नियन्त्रण गर्न चालेको कदम त्यसमा पनि नेपाललाई सहभागी हुन गरेको आह्वान अवसर पनि हो ।

तर, जोखिमलाई मध्यनजर गर्दै बिरामीको बिमा, आवश्यक निर्देशिका तथा प्रक्रिया पूरा गरी अगाडि बढ्न जरुरी देखिन्छ ।