२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


कपिलवस्तुको एउटै ‘क्वारेन्टाइन’का पाँचजनामा कोरोना संक्रमणपछि क्वारेन्टाइन ‘सिल’


0
Shares

कपिलवस्तु, वैशाख २७ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तिर्थादेवी माविको एउटै ‘क्वारेन्टाइन’का पाँचजनामा कोरोनाको संक्रमण भेटिएपछि प्रशासनले सो क्वारेन्टाइन ‘सिल’ गरेको छ ।

तर, संकमितको स्थायी बसाइँ रहेको क्षेत्र सिल गर्नेबारे प्रशासनले निर्णय नगरेपनि सो क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।

संक्रमित क्षेत्रमा गत बिहीबार क्वारेन्टाइनमा राखिएका मायादेवी–२ का दुई युवकमा कोरोना पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि बुटवल पठाइएको थियो ।

शनिबार पुनः सोही क्वारेन्टाइनका तीनजनामा संक्रमण पुष्टि भएको हो ।

फेला परेका नयाँ संक्रमितमा पुराना दुईजनासँगै आएका मायादेवी गाउँपालिका–२ कै १८ वर्षीय युवक हुन् ।

त्यसैगरी, वैशाख २० गते लुकिछिपी नेपाल प्रवेश गरेका मायादेवी गाउँपालिका–८, बिजुवाका १८ वर्षीय र शुद्धोधन गाउँपालिका–६, कर्माका १७ वर्षीय युवक छन् । उनीहरु दुवै पकडीकै क्वारेन्टाइनमा थिए ।

संक्रमितमध्ये वैशाख २३ गते मध्यरातमा आएका मायादेवी–२ का युवक घर नपसी सिधै क्वारेन्टाइन आए भने शुद्धोधनका युवालाई परिवारले तत्कालै क्वारेन्टाइन पठाइएको छ ।