Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


उदयपुर, वीरगन्ज र नेपालगन्जमा स्वास्थ्य परीक्षणका लागि सेना परिचालन


0
Shares

काठमाडौं, वैशाख २५ । कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ ।

जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एक/एक हजार स्थानीयको स्वास्थ्य परीक्षण गर्न सेना परिचालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्ने ‘प्रेस ब्रिफिङ’मा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जोखिम देखिएका ती जिल्लामा थप परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनालाई खटाइएको बताए ।

यस्तै, हालसम्म देशभर १४ हजार ५०९ जनाको ‘पीसीआर’ र ५४ हजार ९३ मा ‘आरडीटी’ परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

जसमा सुदूरपश्चिम र वाग्मती प्रदेशमा सबैभन्दा बढी आरडीटी परीक्षण गरिएको छ ।

हाल ७७ जना कोरोना संक्रमितको भने विभिन्न अस्पतालहरुमा उपचार हुँदैछ ।

हाल देशभर १३३ जना ‘आइसोलेसन’कक्षमा रहेका छन् भने १७ हजार ३७२ जना ‘क्वारेन्टाइन’मा रहेका छन् ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई ‘आइसीयु’कक्ष स्थापना गर्न ६८ लाख २४ हजार २०० रुपैयाँ उपलब्ध गराएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

भिडियो हेर्नोस्