२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


साढे चार करोडका स्वास्थ्य सामग्री हस्तान्तरण


0
Shares

काठमाडौं, वैशाख २४ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघले ‘कोभिड–१९’ विरुद्धको पूर्वतयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन रु चार करोड ५३ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोनाभाइरस नियन्त्रणका निम्ति अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ ओटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’लगायत सामग्री बुधबार हस्तान्तरण गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाजकल्याण परिषद्का निमित्त सदस्यसचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाजकल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघले ती सामग्री खरिद गरेको थियो । रासस