
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख २३ । सरकारको कमजोर व्यवस्थापनका कारण ‘लकडाउन’ गरेको डेढ महिना बितिसक्दा पनि कोरोना संक्रमितको संख्या बढ्दोक्रममा छ ।
लकडाउनमात्रै गर्ने तर परीक्षण नै नगरी बस्दा संक्रमितको संख्या बढिरहेको विज्ञहरुको विश्लेषण छ ।
सरकारले अझैसम्म किट र रिएजेन्ट आवश्यक मात्रामा ल्याउन सकेको छैन ।
वीरगन्ज र उदयपुरपछि नेपालगन्जमा संक्रमणको पारो बढ्न थालेको छ । लकडाउन भएको डेढ महिनामा १५ हजार व्यक्तिको पनि ‘पीसीआर’ परीक्षण भएको छैन ।
धेरै स्थानमा पीसीआर परीक्षणको रिएजेन्टकै अभाव छ । उल्लेख्य मात्रामा परीक्षण किटसमेत सरकारले ल्याउन सकेको छैन ।
परीक्षण र स्वास्थ्य संरचनाको अभावमा संक्रमण फैलियो भने त्यो निकै दुःखद् हुने जनस्वास्थ्यविद् डा. शरद वन्त टिप्पणी गर्छन् ।
बाहिरबाट आएका हजारौंको परीक्षण हुन नसकेको भन्दै डा. वन्तले परीक्षण नै कम भएका कारण संक्रमण फैलनसक्ने बताउँछन् ।
सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदी अझै पाँच लाख किट ल्याउनुपर्ने र संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गराउने जनशक्तिकोसमेत व्यवस्था गरिनुपर्ने बताउँछन् ।
जोखिम बढेका र जोखिम कम रहेका जिल्लाहरुको हकमा छुट्टै व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले नाकाहरुमा थप कडाइको व्यवस्था गरिनुपर्ने बताएका छन् ।
‘क्वारेन्टाइन’ र लकडाउनलाई कडाइ नगर्दा नै संक्रमण समुदायस्तरमा नै पुगिसकेको भन्दै ढुक्क भएर बस्ने अवस्था नभएको बताएका छन् ।
गम्भीर प्रकारका बिरामीहरु नदेखिएकाले अहिलेसम्म स्वास्थ्य संरचनाले धान्ने अवस्था भएपनि सरकार तयारी अवस्थामा भने बस्न जरुरी रहेको विज्ञहरुको सुझाव छ ।
एक जिल्लाबाट अर्को जिल्लाको आउजाउ रोक्नुपर्ने तथा विदेशबाट आएकाहरुको खोजी गर्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्