
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख २२ । ‘लकडाउन’ लम्बिँदै गएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
वीरगन्ज, उदयपुरसँगै नेपालगन्जमा संक्रमितको संख्या बढी देखिएपछि संक्रमण समुदायस्तरमा नै पुगिसकेको चिकित्सकहरुले जनाएका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा आइतबार झन्डै १०० जनामा स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
यसअघि पनि एकजनामा संक्रमण देखिएको नेपालगन्जमा लकडाउन भएको झन्डै डेढ महिना पुग्दा संक्रमित देखिएका हुन् ।
संक्रमित सबैजना आयातित ‘केस’ नभएकाले संक्रमण समुदायस्तरमै पुगेको अनुमान गर्न गाह्रो छैन ।
वैशाख १९ गते संक्रमण देखिएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएका ९० जना व्यक्तिमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण देखिएको हो । उनीहरु ती व्यक्तिका परिवारका सदस्य भने होइनन् ।
सात वर्षकी बालिकादेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ ।
वीरगन्ज, उदयपुरपश्चात् नेपालगन्जमा फैलिएको संक्रमण एकापसमा कुनै सम्बन्ध नभएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए ।
संक्रमितको संख्या थपिँदैमा खतरा भने उच्च विन्दुमै पुग्यो भनेर अहिले नै भन्न नसकिने डा. मरासिनीको भनाइ छ ।
परीक्षणको दर निकै कम रहेको भन्दै उनले दैनिकरुपमा ‘पीसीआर’ परीक्षण भने बढाउनुपर्ने बताउँछन् ।
परीक्षण नै कम गरेर स्वास्थ्य मन्त्रालयले ठूलो गल्ती गरेको डा. मरासिनीको टिप्पणी छ ।
सरकारले लकडाउनको ‘मोडल’लाई केही परिवर्तन गर्नेगरी छलफल भने चलाएको छ ।
तर, डा. मरासिनीले नेपालगन्जलगायतका क्षेत्रमा देखिएको संक्रमण अन्य जिल्लामा फैलन नदिने गरी लकडाउनको मोडललाई परिवर्तन गर्नुपर्ने बताउँछन् ।
समुदायमा दुर्व्यवहार हुने डरले धेरै व्यक्तिले लक्षण देखिएतापनि परीक्षण नगराएको हुनसक्छ भन्दै उनले संक्रमण देखिएको ठाउँमा परीक्षण बढाउनुपर्ने बताए ।
संक्रमितको संख्या बढ्नै जानुले खतराको संकेत भने देखाएको छ । तेस्रो चरणमा पुगेको संक्रमणलाई थप फैलन नदिन परीक्षणको दायरा फराकिलो बनाउनुको विकल्प छैन ।
लकडाउनको मोडललाई परिवर्तन गर्दा संक्रमण बढेका जिल्लाको हकमा भने छुट्टै व्यवस्था गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्