३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


कालोबजारी गर्ने पाँच व्यवसायीलाई कारवाही


0
Shares

अत्तरिया, बैशाख १९ । कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई रु. पाँच लाख ६० हजार जरिवाना गरिएको बताए ।

धनगढीको ग्लोबल सर्जिकल हाउसलाई पिपिई र मास्कमा कालोबजारीको गरेको भन्दै रु. दुई लाख, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेवापत रु. २०/२० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।अनुगमनका क्रममा पिपिईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत मूल्य वृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर ग्यास सिलिन्डर बिक्री गरेको भन्दै रु. तीन लाख जरिवाना गरिएको छ ।

सो सप्लायर्सले ग्राहकबाट रु. एक हजार ३४० पर्ने ग्यास सिलिन्डरको रु. एक हजार ३७५ लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख पुनले बताए । रासस