
ध्रुव भट्टराई र प्रज्ञा तिमल्सिना (इमेज)
विराटनगर, काठमाडौं, वैशाख १९ । मुलुकभर हाल कोरोना संक्रमित ४१ जनाको उपचार भइररहेको छ ।
तीमध्ये ३१ जना विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत् छन् ।
विराटनगरस्थित कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रको व्यवस्ता पछिल्लो समय निकै बढेको छ ।
३१ जना कोरोना संक्रमित बिरामीको उपचारमा व्यस्त डा. मिश्र चुनौतीका बीच पनि ठूलो जिम्मेवारी सम्हालेकी छन् ।
कोसी अस्पताल र कोसी कोभिड अस्पताल गरी दुवै अस्पतालको जिम्मेवारी सम्हालेकी उनले चिकित्सक र स्वास्थ्यकर्मीलाई उपचारमा खटाउन पनि कम्ती चुनौती देखिएको थिएन ।
वैशाख ५ गते उदयपुरको मस्जिदमा बस्दै आएका १२ जनामा कोरोना संक्रमण देखिएपश्चात् अस्पतालले सेवा सुरु गरेको थियो ।
विराटनगरमा अवस्थित पुरानो नेसनल ट्रेडिङको भवनलाई १० दिनमा कोरोना रोगको उपचार गर्न सकिने अस्पतालमा रुपान्तरण गरिएको अस्पतालमा हाल ३१ जना संक्रमितको उपचार हुँदैछ ।
कोसी अस्पतालकै चिकित्सक र स्वास्थ्यकर्मीकोे सहयोगमा कोसी कोभिड अस्पतालमा ५० ओटा शय्या र १० ओटा ‘आइसीयु’ र १० जटिल खालको उपचार गर्न सकिने कक्ष बनाइएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले चुनौतीको बाबजुद् पनि राम्रो उपचार गराउन सफल भएको भन्दै खुसी व्यक्ति गरिन् ।
उनले संक्रमित १७ जना मुस्लिम समुदायका व्यक्तिले रोजा सुरु गरेको भन्दै उनीहरुलाई उचित खानपानको व्यवस्थासहित उपचार सुरु गरिएको जानकारी दिए ।
अस्पतालमा २६ जना चिकित्सकले एक हप्ता काम गर्छन् र त्यसपश्चात् उनीहरु ‘क्वारेन्टाइन’मा बस्छन् । पछि अन्य चिकित्सकले काम गर्नेगरी व्यवस्था मिलाइएको डा. मिश्रले जानकारी दिइन् ।
ती चिकित्सकले अन्य बिरामीको उपचार गराउन नमिल्ने हुँदा जनशक्तिको भने अभाव देखिएको उनले बताइन् ।
थोरै समयभित्र पनि धेरै बिरामीको उपचार गराइरहेको अस्पतालमा काम गर्ने चिकित्सकको मनोबलमा असर नपार्ने काम गराउन पनि सबैलाई डा. मिश्रले आग्रह गरिन् ।
उपत्यकाबाहिर पनि स्रोत र साधन जुटाउन सकियो भने राम्रो उपचार हुनसक्छ भन्ने कुरा विराटनगरको कोभिड–१९ उपचार केन्द्रले प्रमाणित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्