Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘लकडाउन’पछि अपराधका घटनामा कमी, ‘लकडाउन लम्बिए अपराध बढ्नसक्छ’


0
Shares

दीपक श्रेष्ठ (इमेज)

काठमाडौं, वैशाख १८ । कोरोनाभाइरसको संक्रमण रोक्न ‘लकडाउन’ गरिएपछि काठमाडौं उपत्यकामा अपराधका घटनामा केही कमी आएको छ ।

तर, लकडाउन अझै लम्बिँदै गएमा भोलिका दिनमा आपराधिक घटनामा वृद्धि हुने खतरा पनि उत्तिकै छ ।

लकडाउनपछि काठमाडौं उपत्यकामा हुने आपराधिक क्रियाकलापमा कमी आएको छ ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार लकडाउनअघि मासिक करिब एक हजार आपराधिक घटना हुने गरेकोमा अहिले यस्ता घटनामा कमी देखिएको छ ।

लकडाउनपछि उपत्यकाका तीन जिल्लामा २०० भन्दा बढी आपराधिक घटना भएका छन् ।

काठमाडौंमा १७७, ललितपुरमा २८ र भक्तपुरमा १२ ओटा घटना भएको प्रहरीले जनाएको छ । यीमध्ये आत्महत्या र भवितव्यका घटना बढी छन् ।

सबैभन्दा धेरै भवितव्यका ६०, ज्यानसम्बन्धी कसुर ४३, बैंकिङ कसुरका ३३ ओटा घटना प्रहरीकोमा पुगेको छ । २२ जनाले आत्महत्या गरेका छन् ।

यस्तै, जबर्जस्ती करणी ८, चोरीका ७ र अभद्र व्यवहारका ६ मुद्दा प्रहरीमा दर्ता भएको महानगरीय प्रहरीले जनाएको छ ।

लकडाउन भएको एक महिना नाघिसक्यो । लकडाउन कहिले टुंगिने हो भन्ने अझै पत्तो छैन । योबीचमा हजारौं व्यक्ति रोजगारविहीन भइसकेका छन् । कतिपयलाई बिहान–बेलुकाको छाक टार्नै समस्या भएको छ ।

लकडाउन जति लम्बियो, मानिसहरुलाई आर्थिक कारणले उत्पन्न हुने समस्या टार्न त्यति नै मुस्किल हुने देखिन्छ । यही कारणले पनि भोलिका दिनमा अपराधका घटनामा वृद्धि हुनसक्ने प्रहरीको आँकलन छ ।

लकडाउन लम्बिँदै गयो भने यसले समाजका हरेक तह र तप्कामा नकारात्मक असर पर्ने खतरा पनि उत्तिकै छ ।

आर्थिक र सामाजिक सम्बन्धका आयामहरुमा लकडाउनको नकारात्मक प्रभाव पर्ने निश्चित भएकाले समाधानका विकल्पमा सरकारले तत्काल ध्यान दिनुपर्ने मानवशास्त्री डम्बर चेम्जोङको भनाइ छ ।

कोरोनाले कुनै एक देश नभएर पूरै विश्व प्रताडित भएकाले यसको असर कतिसम्म पर्नसक्छ भनेर अहिले नै अनुमान गर्न गाह्रो छ ।

संक्रमणको अवधि लम्बिँदै गयो भने यसले पूरै विश्वमा उथलपुथल ल्याउनसक्ने भएकाले समाजमा सुव्यवस्था कायम राख्ने उपायबारे अहिले नै सोच्न जरुरी देखिन्छ ।