२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७’, देशभर ८७ जना ‘आइसोलेसन’मा


0
Shares

काठमाडौं, वैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका एकजनामा कोरोनाभाइरस संक्रमण भएको र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनीहरु तबलिगी जमात नामक मुस्लिम समूहको दिल्लीमा भएको सभामा सहभागी भएको पनि मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित ५७ जना पुगेका छन् भने १६ जना निको भइसकेका छन् ।

बिरामीहरु सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

डा. देवकोटाले विदेशबाट आएकाहरुमा अझैपनि संक्रमणको जोखिम रहेको भन्दै अरुलाई रोग सर्न नदिनका लागि घरमै बस्न र स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

बुधबारसम्म ‘पीसीआर’बाट ११ हजार ५२४ ओटा तथा ‘आरडीटी’बाट ४५ हजार ६६५ गरी ५७ हजार १८९ ओटा परीक्षण परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा दुई हजार ३६७ ओटा नमुना परीक्षण भएका छन् ।

मन्त्रालयले हाल २२ हजार ९०१ जना ‘क्वारेन्टाइन’मा रहेको र उपत्यकामा चारसहित ८७ जना ‘आइसोलेसन’मा रहेको जनाएको छ ।

यस्तै, मन्त्रालयले आयुर्वेदिक चिकित्सासम्बन्धी निर्देशिका पनि जारी गरेको छ ।

भिडियो हेर्नोस्