
काठमाडौं, बैशाख १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश वस्नेत र किसान श्रेष्ठविरूद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन आनाकानी गरेको डा. बाबुराम भट्टराईले जनाएका छन् ।
नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महानगरीय प्रहरी परिसर काठमाडौंले तीन जनाविरुद्धको जाहेरी लिन नमानेको जानकारी दिएका हुन् ।
आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवसहितका नेताहरु महानगरीय प्रहरी परिसर कार्यालय टेकु पुगेका हुन् । यादवको साथमा जनता समाजवादी पार्टीका नेताहरू डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता प्रहरी परिसर गएका हुन् ।
परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भनेका हुन् । काठमाडौं प्रहरीमा एसएसपी श्याम ज्ञवालीको सरूवा भए पनि उनले पदभार सम्हाली नसकेका कारण परिसरमा कार्यालय प्रमुख छैनन् ।
प्रहरीले उजुरी लिन नमानेको भन्दै जाहेरी दिन प्रहरी परिसरमा पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— Baburam Bhattarai (@brb1954) April 26, 2020
समाजवादी पार्टी फुटाउने उद्देश्यका लागि गत बुधबार खनाल, बस्नेत र श्रेष्ठले सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए । तर त्यसबीचमा समाजवादी पार्टी र राजपाको एकीकरण घोषणा भइसकेको थियो भने काठमाडौंको होटल मेरियटमा राखिएका यादव सुटुक्क आफ्ना नेताहरुको सम्पर्कमा पुगेका थिए ।
पूर्वआइजिपी खनाल, पूर्वमन्त्री वस्नेतले भने यादवलाई अपहरणको आरोप अस्वीकार गर्दै यादवले काठमाडौं आउन चाहेकाले ल्याइदिएको तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्