
काठमाडौं, वैशाख १२ । कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने भएको छ ।
मन्त्रालयले गर्दै आइरहेको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टोली परिचालन गर्ने तयारी गरेको जानकारी दिए ।
उक्त टोलीमा जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी र नर्ससहित तीनजना रहने छन् ।
प्रवक्ता डा. देवकोटाले स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथाम, परीक्षण र ‘ट्रेसिङ’मा सहयोग र सहजीकरणको काम गर्ने जानकारी दिए ।
डा. देवकोटाले देशभर अहिलेसम्म ‘आरडीटी’ र ‘पीसीआर’ प्रविधिमार्फत् ४७ हजार ४९६ जनाको परीक्षण गरिएको जानकारी दिए ।
उनले बिहीबार संक्रमण पुष्टि भएको भोजपुरका २६ वर्षीय पुरुषको सम्पर्कमा आएका उदयपुरका आफन्तको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जानकारी दिए ।
घरमै नमाज पढ्न आग्रह
पत्रकार सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीले काठमाडौं उपत्यकाका मस्जिदहरुमा बस्दै आएका धर्मगुरु र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको बताए ।
उनले अहिलेपनि मुलुकका मस्जिदमा कोही फसेको भए सम्बन्धित स्थानीय तहलाई खबर गरेर सहयोग गर्न आग्रह गरे ।
उनले मुस्लिम समुदायले सरकारलाई सहयोग गर्ने अहिले ठूलो अवसर प्राप्त गरेको भन्दै शनिबारबाट सुरु हुने रमजानमा पनि मस्जिदमा नगइ घरमै नमाज पढ्न आग्रह गरे ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्