
शरद शर्मा (रासस)
काठमाडौं, साउन २८ । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्यरूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकाअनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन सबै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइबर’जस्ता सामाजिक सञ्जाल सन्चालन गर्नुपर्ने हुन्छ ।
उनले सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदानप्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने बताए ।
कार्यालयले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
ट्वीटरबाट कार्यालयले आफूलाई थप सहयोग हुने खालका विचार ‘लाइक’ गर्ने, ‘रिट्वीट’ गर्ने, सन्देश, फोटो र भिडियो सेयर गर्ने, कसैको भनाइ उद्धृत गर्नेजस्ता कार्य गर्नसक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यालयले सेवाग्राहीलाई जवाफ दिँदा प्रतिवाद वा आक्रोश नझल्किने गरी शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ ।
कार्यविधिमा सामाजिक सञ्जाल प्रयोग गर्दा एक निकायले अन्य निकायसँग सहकार्य गरेर सामाजिक सञ्जाल सन्चालन गर्नुपर्ने व्यवस्था छ ।
कार्यालय प्रमुख उपाध्यायले सामाजिक सञ्जालको पेज बनाउँदा सरकारी संस्थाको नाम स्पस्ट झल्किने गरी बनाउनुपर्ने बताए ।
यस्तै, भाइबर सन्चालन गर्दा आफ्नै कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकतानुसार बढी मोबाइल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ ।
कार्यालयले सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाइँको प्रश्न/जिज्ञासा/ गुनासो/समस्या/अन्यको जवाफ म्यासेजमार्फत् दिइएको छ, हेर्नुहोला’ भनी उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
‘कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको हो’–उनले भने–‘यसअघि कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई पनि एकरूपता ल्याइ सन्चालन गर्न कार्यविधि ल्याएका हौं ।’
यस्तै, सामाजिक सञ्जालका खाता र ह्यान्डल सन्चालन-व्यवस्थापनमा कुनै बाधा–व्यवधान र नसोचेको विषय आएको अवस्थामा सो समाधान गर्न प्रत्येक निकायमा एक समस्या समाधान टोलीको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
उनकाअनुसार अहिले १० प्रतिशत कार्यालयलेमात्र ट्वीटर सन्चालन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्