कैलाली, चैत २७ । धनगढी उपमहानगरपालिका–१ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुईजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
कारागारनजिकै रहेको सुनचाँदी पसलबाट बुधबार राति पाँचओटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिए ।
गुप्ताले घरको छतमा रहेको पानीट्यांकीभित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
सुनचाँदी पसलका सञ्चालक वर्माकाअनुसार रु १० लाख जतिका गहना चोरी भएको छ ।
कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि लागुऔषधसम्बन्धी सार्वजनिक अपराधमा मुद्दा चलेको बताइएको छ ।
यस्तै, उपमहानगरपालिकाकै फूलबारीमा पाँचजनाको घरबाट पनि पानी तान्ने मोटर चोरी भएको बताइएको छ । रासस








प्रतिक्रिया दिनुहोस्