काठमाडौं, चैत ८ । नेपाल प्रहरीले ‘कोभिड–१९’ को संक्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई शनिबार पक्राउ गरेको छ ।
रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्ने विवेक थापामगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
थापामगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति–सुरक्षाविरुद्धको कसुरमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
मगरले विनादर्ता सञ्चालन भएको ‘झोर्ले न्यूज डटकम’का सञ्चालन गरेको बताइएको छ ।
नेपालमा कोरोनाको संक्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए ।
एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ ।
उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको थियो ।
प्रहरीले गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रहसमेत गरेको छ ।
सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाइसकेको छ ।
नर्भिक इन्टरनेसनल अस्पतालले कोभिड–१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ । रासस








प्रतिक्रिया दिनुहोस्