Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


१७७ बोरामा ८ लाख ४९ हजार मेडिकल मास्क बरामद


0
Shares

दीपक श्रेष्ठ, देवेन्द्र महर्जन र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, चैत ३ । ‘कोरानोभाइरस’को त्रासका कारण बजारमा मेडिकल मास्कको चर्को माग छ । तर, यही त्रासको वातावरण व्यापारीहरुका लागि भने कमाउने अवसर बनेको छ ।

मास्कको कालोबजारी गर्नेहरुलाई प्रहरीले दैनिकजसो समात्न थालेको छ ।

मास्कको कालोबजारी गर्ने गिरोह उपत्यकामा छ्यापछ्याप्ती रहेकोमा शंका छैन । तीमध्येका गिरोहका केही समूह प्रहरीको फन्दामा परेका छन् ।

शनिबार र आइतबार गरी प्रहरीले मास्क कालोबजारी गर्ने पाँचजनाको समूहलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा, खिजादेबी गाउँपालिका–१ घर भइ ललितपुर, इमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा जिल्ला गढीमाई उपमहानगरपालिका–२ घर भइ कपन बस्ने वर्ष ३४ का सन्जय रेग्मी, चितवन जिल्ला टाडी नगरपालिका–१ घर भइ स्वयम्भू बस्ने वर्ष २६ का अजिम बकस मिया, आरडिजी इन्टरनेसनल सप्लायर्सका सञ्चालकद्वय काठमाडौं महानगरपालिका–२३ का २४ वर्षीय सुरज गोयल र भारत, राजस्थान घर भइ काठमाडौंको बागबजार बस्ने सुबास महेस्वरी रहेका छन् ।

उनीहरुले काठमाडौंका विभिन्न स्थानमा लुकाइराखेको ८ लाखथानभन्दा धेरै मास्क पनि प्रहरीले बरामद गरेको छ ।

सतंगुल, बोसिटोलका रोहित श्रेष्ठको घरमा लुकाइराखेको १७७ बोरा मास्क सोमबार बिहान बरामद गरिएको हो । १७७ बोरामा ८ लाख ४९ हजार मेडिकल मास्क बरामद गरिएको हो ।

काठमाडौं जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले यस गोदाममा छापा मारेको हो ।

यसअघि पनि प्रहरीले झन्डै दुई लाखथान मास्क बरामद गरिसकेको छ । तस्करहरुबाट बरामद गरिएको मास्क त्यत्तिकै खेर जाने वा फेरि दुरुपयोग हुने त होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।

यी मास्कहरु बजार मूल्यकै दरमा सर्वसाधारणको हातमा पुर्‍याउने जिज्ञासमा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले सक्दो छिटो सर्वसाधारणसम्म पुर्‍याउन सम्बन्धित निकायमा अनुरोध गर्ने बताए ।

कोरोनाभाइरस फैलिएपछि नेपालबाट महँगो मूल्यमा मास्क चीनमा समेत पठाएर कमाउन पल्किएका व्यापारी र तस्कहरुले अहिले देशभित्रै उत्पन्न त्रासको वातावरणलाई समेत दुरुपयोग गर्न खोजेको देखिन्छ ।

प्रशासन र प्रहरीले सक्रियता बढाउने हो भने यस्ता गिरोहलाई नियन्त्रण गर्न नसकिने भने होइन ।

भिडियो हेर्नुहोस्