सुर्खेत, फागुन २६ । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–६, खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले सोमबार ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो ।
घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ ।
प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घन्टाभित्रै शंकास्पद बालकलाई गिरफ्तार गरिएको बताए ।
‘नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौं’–उनले भने–‘सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ । अन्य व्यक्तिको खोजीकार्य तीव्र पारेका छौं ।’
लागुऔषधसहित तीनजना पक्राउ
यसैबीच, सुर्खेत प्रहरीले झन्डै सात ग्राम लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार राति १०ः३० बजे वीरेन्द्रनगर–११, सुब्बाकुना चेकपोस्टमा सवारी–साधन जाँच गर्नेक्रममा नेपालगन्जबाट सुर्खेत आउँदै गरेको बा५ख ५९९४ नम्बरको गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो ।
प्रहरीले गाडीमा सवार एक यात्री, गाडीचालक, सहचालक र गाडीसमेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस्