
प्रदीप पौडेल (इमेज)
पोखरा, फागुन २२ । पोखरामा चीनबाट फैलिएको ‘कोरोनाभाइरस’को प्रकोप भित्रिन नदिन सचेतना अपनाउन थालिएको छ ।
पर्यटकीय नगरीको रुपमा रहेको पोखरामा सचेतनामूलक कार्यक्रमका साथै उपचारको व्यवस्थापन सुरु गरिएको हो ।
अहिले विश्व नै कोरोनाभाइरसको महामारीबाट संत्रस्त बनेको छ । आत्तिइहाल्नुपर्ने अवस्था नभएपनि उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकले सुझाव दिँदै आएका छन् ।
संक्रमण फैलिए नियन्त्रण गर्न कठिन पर्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको हो ।
चिनियाँ पर्यटकसँगै अन्य मुलुकका पर्यटकको बाक्लो आउ–जाउ हुने हुँदा सुरक्षाका लागि सरकारीदेखि निजी क्षेत्रका अस्पतालहरुलाई समेत तयारी अवस्थामा राखिएको छ ।
कोरोनाभाइरससँग जोगिनका लागि डाक्टरको प्रत्यक्ष निगरानीसहित ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राखिएको छ ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् क्षेत्रीय अस्पताल, चरक, मणिपाल, गण्डकी मेडिकल कलेजमा आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
‘क्वारेन्टाइन’का लागि सम्भावित स्थलको खोजी भइरहेको जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ ।
अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ ।
चीनसँग जोडिएको कोरला नाकाबाट गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ जिल्ला पनि सीमा जोडिएका कारण मुस्ताङमा ‘हेल्थ डेस्क’ राखेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।
पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ । हालसम्म यात्रीमा कुनै लक्षण देखिएको छैन ।
कोरोनाका कारण सर्वसाधारण भने त्रसित बनेका छन् । कोरोनाको त्राससँगै बजार पनि सुनसान बन्दै गएको छ ।
सपिङ मल, फिल्म हल, पर्यटकीयस्थल लेकसाइड, सभा–सभारोहमा कम उपस्थिति हुन थालेको छ ।
यस्तो अवस्थामा मेला, महोत्सव नगर्न र भीडभाडमा नजान कास्कीका प्रमुख जिलला अधिकारी रमेश केसीको आग्रह छ ।
औषधि पसलले मास्क तथा औषधिको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि प्रशासनले निगरानी बढाएको जनाएको छ ।
सचेतना अपनाए यसबाट बच्न सकिने भएपनि सर्वसाधारणमा भने अनावश्यक त्रास फैलिएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्