
प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)
काठमाडौं, फागुन १२ । सरकारी क्षेत्रबाट सञ्चालित नेपालको केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पतालमा बारम्बार नेतृत्व फेरिँदा अस्पतालको सेवा तथा कार्यसम्पादनमा समेत प्रभाव पर्ने गरेको छ ।
दिन–प्रतिदिन अव्यवस्थित बन्दै गएको अस्पतालमा कुनैपनि निर्देशकले दुईवर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् ।
बालबालिकाको उपचार गर्ने सरकारी क्षेत्रको एकमात्र कान्ति बाल अस्पतालमा पछिल्लो समय निर्देशक फेरिनेक्रम बढ्दो छ ।
पछिल्लो दुई वर्षमै अस्पतालमा तीनजना निर्देशक फेरिएका छन् । जसका कारण अस्पतालको कार्यसम्पादन, व्यवस्थापन र नयाँ योजना कार्यान्वयनमा असर पुगेको छ ।
लामो वर्षदेखि अस्पतालमा कार्यरत् डा. गणेश राई २०७४ सालमा निर्देशक बनेका थिए । दुई वर्ष निर्देशकको रुपमा रहेका डा. राईलाई गत असारमा हटाइ परिवार कल्याण महाशाखा प्रमुख रहेका र पहिले नै अस्पतालमा रहिसकेका डा. आरपी विच्छालाई निर्देशक बनाइयो ।
अस्पताल सुधारको १० वर्षे कार्ययोजनासहित निर्देशक बनेका डा. विच्छाले सात महिनामात्र काम गर्न पाए । सरकारले उनलाई फागुन ११ गते हटाइ डा. कृष्णप्रसाद पौडेललाई निर्देशक बनाइएको छ ।
डा. गणेश राईअघि डा. अजित रायमाझी एक वर्षमात्र अस्पतालको निर्देशक बनेका थिए । त्यसअघिका धेरै निर्देशकले पनि दुई वर्ष पनि अस्पतालमा काम गर्न पाएका छैनन् ।
पछिल्लोपटक निर्देशक बनेका डा. पौडेल बारम्बार निर्देशक परिवर्तन हुँदा कार्यक्रम र योजनामा नै प्रत्यक्ष प्रभाव पर्ने बताउँछन् ।
अस्पतालमा १७ वर्ष काम गरी अवकास पाएका पूर्वनिर्देशक डा. गणेश राईले अस्पताल अभावै–अभावबाट गुज्रिएको गुनासो गरे ।
नयाँ निर्देशक डा. पौडेलले भने आफू १२ वर्षदेखि अस्पतालमा नै रहेकाले अस्पतालमा परिवर्तन ल्याउने दाबी गर्छन् ।
प्रतिक्रिया दिनुहोस्