Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै, ४ सय २९ जना पक्राउ


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीमा लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ ।

पछिल्लो साढे पाँच बर्षको अवधिमा यस्ता कार्यमा संलग्न ४ सय २९ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा समेत चलाएको छ ।

खुल्ला सीमानाका कारण भारतबाट लागू औषध ल्याएर प्रयोग गर्ने र अरुलाई पनि बिक्री गर्ने कार्य कैलालीमा बढ्दै गएको छ ।

जसले गर्दा लागू औषधको कुलतमा युवायुवती फस्दै गएका छन् ।

लागु औषधको ओसारपसार, कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरु चोरी डकैती लुटपाटजस्ता आपराधिक गतिविधिमा बढी संलग्न देखिन्छन् ।

यता प्रहरीले भने लागुऔषध दुव्र्यसनलाई रोक्न सक्रियता बढाइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म लागु औषध सम्बन्धीका मुद्दामा ४ सय २९ जनालाई पक्राउ गरी मुद्दा चलाएको जानकारी दिए ।

कैलालीमा सबैभन्दा बढी चरेशको कारोबार हुने गरेको छ भने गाँजा, ब्राउन सुगर, नाईट्रो भेट, स्पास्मो प्रक्सोभनलगायतको पनि कारोबार र सेवन उच्च छ ।

युवाहरुको लागूऔषधमा फस्नुको कारण साथीभाइको संगत, बेरोजगारी, नैराश्यता बढ्नुलगायत भएको प्रहरीको भनाइ छ ।

लागु औषध नियन्त्रणका लागि स्कुलदेखि नै सचेतना मुलक कार्यक्रम गर्ने र सिमामा कडाइ गर्नुपर्ने धनगढी जेसिजका अध्यक्ष श्याम पाठकको भनाइ छ ।

लागुऔषध सेवनकर्ता बढ्दै गएसँगै हत्या हिंसाजस्ता जघन्य अपराघका घटनामा पनि बढ्दै गएका छन् ।

यसलाई नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम र प्रभावकारी नियमन हुनुपर्छ ।