Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


भैँसी चोरेर भाग्दै गर्दा पक्राउ


0
Shares

स्याङ्जा । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

उनीहरुले ग १ ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि  मंगलबार पक्राउ गरिएको  वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको  थियो ।

यस क्रममा  अलि द्वयलाई जिपसहित  पक्राउ गरेको प्रहरीले जनाएको छ । तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको  कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ । चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए । रासस