
काठमाडौं, फागुन ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले स्वस्थानी कथा वाचनको शैलीमा बालुवाटारस्थित ललित निवास जग्गा प्रकरणको छानबिनमाथि व्यङ्ग्य गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले ललिता निवास जग्गाको निष्पक्ष छानबिन नभएको भन्दै व्यङ्ग्य गरेका हुन् ।
कांग्रेसकै अर्का सांसद अतहर कमाल मुसलमानले स्वस्थानी कथाको पुस्तक च्यात्ने सत्तारुढ दलका एकजना सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
केही दिनअघि सत्तारुढ दल नेकपाका सांसद यशोदा गुरुङ सुवेदीले स्वस्थानी ब्रतकथाको किताब च्यात्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कांग्रेसकै सांसद अमशेरकुमार सिंहले उखु किसानहरुलाई भुक्तानी गर्न सरकार गम्भीर नभएको भन्दै ‘सरकार किसान र जनताको हो कि बिचौलियाको हो ?’ भन्दै प्रश्न गरे ।
सत्तारुढ दल नेकपाका सांसद गौरीशंकर चौधरीले २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा घटेको घटनामा निर्दोष रहेका रेशम चौधरीलगायत जेलमा रहेका थारुलाई रिहा गर्न माग गरे ।
सांसदहरु अमृता थापामगर, उमा रेग्मी, खेम लोहनी, गणेश पहाडीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
महराले सफाइ पाएको पत्र संसदमा
यसैबीच, बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादर महराले सफाइ पाएको पत्र संसदमा पुगेको छ ।
मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएको जिल्ला अदालतको पत्र वाचन गरी सुनाएका थिए । योसँगै महराले प्रतिनिधिसभामा सहभागी हुन पाउने बाटो खुलेको छ ।
यस्तै, बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
मंगलबारको बैठकमा राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त ‘मिडिया काउन्सिल विधेयक, २०७५’ टेबुल भएको छ ।
बैठकमा ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेस भएको छ भने ‘सैनिक (पहिलो संशोधन) विधेयक र ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७६’ पेस भएका छन् ।
मंगलबारको बैठकले २०४८ सालको प्रतिनिधिसभा सदस्य भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पूर्वसांसद ज्ञवालीको ७५ वर्षको उमेरमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्