५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


धनकुटा अस्पतालः पर्याप्त पूर्वाधार छन् डाक्टर छैनन्


0
Shares

 धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।

जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्रेशन अहिले हुन छाडेको छ । भौतिक पूर्वाधार र सामाग्री भएपनि  चिकित्सक नहुँदा यी सेवाहरु गएको एक वर्षदेखि ठप्प भएका छन् ।

एक वर्षदेखि निमित्त मेडिकल सुपरिटेण्डेन्टको भरमा चल्दै आएको जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट नभएकै कारण यी सेवाहरु ठप्प भएका हुन् ।

जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट एक र मेडिकल अधिकृत दुई गरी जम्मा तीन जना चिकित्सकको दरबन्दी भएकोमा हाल मेडिकल अधिकृत एकजना मात्र कार्यरत छन् ।

दन्त चिकित्सकको दरवन्दी नभएका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्नशिप दन्त चिकित्सकको भरमा सेवा सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पतालहरुमा सेवा तथा उपकरणहरुको उपलब्धता बढ्दै गए पनि उपचार गर्ने चिकित्सकहरुको पदपूर्ती हुन नसक्दा अस्पताल आफैं विरामी हुने अवस्थामा पुगेको हो ।