Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘सरकारले सक्दैन भने हामी अरु मुलुकसँग सहारा माग्छौं’ (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, माघ २६ । चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु आफना छोरा–छोरीलाई नेपाल ल्याउन हारगुहार गर्दै दिनहुँजस्तो विभिन्न निकाय धाइरहेका छन् ।

चीनमा ‘कोरोनाभाइरस’का कारण सयौंको ज्यान गएपछि नेपाल आउन चाहेका १८० जना विद्यार्थीलाई नेपाल ल्याउन सरकारले आवश्यक तयारी गरिरहेको बताइरहेको छ ।

उनीहरुका अभिभावकले आइतबार आफ्ना छोरा–छोरी नेपाल फर्काउन याचना गर्दैै मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

चीनमा रहेका डा. गौरव पोखरेलले मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग भिडियो कुराकानी गरे ।

‘युरोलोजी’मा ‘पीएचडी’ सकेर नेपाल आउने तयारीमा रहेका उनी कोरोनाभाइरसको त्रासका कारण विगत १५ दिनदेखि वुहानमा कोठामै थुनिएर बस्न बाध्य छन् ।

गौरवजस्तै अरु धेरै नेपालीको अवस्था यस्तै छ ।

उनीहरुका अभिभावक छोरा–छोरीलाई छिटो नेपाल ल्याउन माग राख्दै पछिल्लो समय दिनहुँ सरकारी निकाय धाइरहेका छन् ।

गत शुक्रबार परराष्ट्र र गृहमन्त्रीलाई भेटेका उनीहरुले आइतबार मानवअधिकार आयोगका अध्यक्ष शर्मालाई भेटेका छन् ।

सरकारले आश्वासनमात्र दिएको भन्दै उनीहरुले अध्यक्ष शर्मालाई नै अभिभावकत्व लिएर आफ्ना छोरा–छोरीलाई छिटो नेपाल ल्याउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

‘सरकारले हाम्रो कुरा सुनेन, हामी कहाँ जाने ? संक्रमण बढ्दै छ, कुनै अप्रिय घटना भएको खण्डमा त्यसको जिम्मेवारी कसले लिन्छ ?’ उनीहरुको प्रश्न छ ।

आफ्ना छोरा–छोरी मानसिकरुपमा पनि कमजोर हुन थालेको उनीहरुको दुखेसो छ ।

‘सरकारले सक्दैन भने हामी अरु मुलुकसँग सहारा माग्छौं, अन्तर्राष्ट्रिय सहयोग माग्छौं’ भन्दै उनीहरुले आक्रोशसमेत पोखे ।

जवाफमा अध्यक्ष शर्माले चीनमा रहेका नेपाली विद्यार्थीलाई सकुशल नेपाल ल्याउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिए ।

सरकारले एक हप्ताअघि नेपाल आउन चाहने नेपालीको नाम संकलन गरेको थियो । तर, नाम संकलन गरेको एक साता बितिसक्दा पनि उनीहरुलाई कहिले नेपाल ल्याउने कुनै टुंगो छैन ।

भिडियो हेर्नुहोस्