Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दमौली अस्पतालमा औषधी अभाव, सेवाग्राही मर्कामा


0
Shares

तनहुँ । दमौली अस्पतालमा औषधी अभाव भएको छ । अस्पतालमा सामान्य औषधी पनि नभएपछि उपचारका लागि आउने सेवाग्राहीहरु मर्कामा परेका छन् ।

स्वास्थ्य बिमा गरेका नागरिकहरु पनि अस्पतालमा औषधि नपाएपछि निजि क्लिनिकमा गएर किन्न बाध्य छन् । पछिल्लो समय अस्पतालमा औषधी नपाइने तथा विभिन्न झञ्झट झेल्नुपरेकाले स्वास्थ्य बिमा गर्नेको संख्या पनि जिल्लामा घट्दै गएको छ ।

दमौली अस्पतालमा दैनिक दुई सय पचासदेखि तीन सयको संख्यामा बिरामीहरु उपचारको लागि आउने गर्दछन् । सरकारले निशुल्क उपलब्ध गराउने औषधि पनि अस्पतालमा पर्याप्त नभएकाले सेवाग्राहीले गुनासो गरेका छन् ।

सुगर प्रेसर लगायतका अत्यावश्यक औषधिसमेत अभाव भएकाले बिरामीहरु समस्यामा परेका छन् । औषधि खरिदका लागि टेन्डर गर्नुपर्ने भएको र टेन्डर प्रक्रिया अलिकति लामो भएकाले अस्पतालमा औषधी अभाव भएको दमौली अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले जानकारी दिए ।