
काठमाडौं, माघ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘कोरोनाभाइरस’को सम्भावित जोखिमबाट जोगिन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारकै तयारी गरेको दाबी गरेका छन् ।
नेपालमा कोरोनाभाइरसको सम्भावित जोखिम र सरकारको तयारीबारे सार्वजनिक महत्वको विषयमा मंगलबार सदनलाई जानकारी दिँदै उनले प्राविधिक र व्यवस्थापकीय दृिष्टकोणबाट ‘डब्लुएचओ’को मापदण्ड अपनाएर आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।
स्वास्थ्यमन्त्री ढकालले हालसम्म नेपालमा संक्रमणको आशंकामा १३ जनाको परीक्षण गरिएको तर कसैमा पनि संक्रमण नभेटिएको बताए ।
राख्ने ठाउँको प्रबन्ध भइसक्यो
मन्त्री ढकालले चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई आवश्यक परेको बेला तत्काल ल्याउन सक्नेगरी सरकारले तयारी गरेको जानकारी दिँदै उद्धार गरी ल्याएकालाई राख्ने ठाउँको प्रबन्ध पनि भइसकेको जानकारी दिए ।
चीनमा परीक्षण गर्दा संक्रमण देखिए नेपाल ल्याउन नदिने भन्दै उनले उद्धार गरेर ल्याएपछि १४ दिनसम्म ‘क्वारेन्टाइन’मा राख्नेसहित आवश्यक प्रबन्ध मिलाउन पूर्ण तयारी गरेको जानकारी दिए ।
४३ ‘बेड’ तयारी अवस्थामा
कोरोनाभाइरस संक्रमितको उपचारका लागि विभिन्न तीनओटा अस्पतालमा ४३ ‘बेड’ तयारी अवस्थामा राखेको मन्त्री ढकालले बताए ।
विदेशबाट आउने यात्रीको परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकित्सक र सम्पूर्ण सेवासहित २४ घन्टा ‘हेल्प डेस्क’ सञ्चालनमा रहेको पनि उनले बताए ।
बैठकमा सांसदहरुले कोरोनाभाइरसको सम्भावित संक्रमणबारे सरकारको तयारी, चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारमा भइरहेको ढिलाइ र नेपाल ल्याएपछिको व्यवस्थापनबारे प्रश्न उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्