-विशाल नेम्बाङ्ग/दुर्गा उपाध्याय/दीपक घिमिरे/ ईमेज
भैरहवा । चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोपबाट नेपाल पनि उच्च जोखिममा परेको छ । तर सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्क प्रभावकारी नभएको र अति संवेदनशील क्षेत्रमा समेत हेल्थ डेस्क नराख्नुले महामारीकै निम्तो दिएजस्तो देखिन थालेको छ ।
चीनमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको प्रकोप भित्रिन नदिन नेपाल सरकारले केही सीमा नाकामा हेल्थ डेस्क स्थापना गरे पनि सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा भने अझै व्यवस्था गरिएको छैन ।
चीनसँग नाका नजोडिए पनि बेलहिया नाकाबाट नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने गर्दछन् जसमा चिनियाँ पर्यटकको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।
कोरोना भाइरसको प्रकोप भित्रिने संभावित नाका भए पनि अहिलेसम्म हेल्थ डेक्सको समेत स्थापना नहुनुले सरकारी लापरबाही र लाचारीपना झल्किएको छ ।
बेलहिया नाकाबाट मासिक ६ सय जनाको हाराहारीमा चिनियाँ पर्यटक भित्रिने गरेको तथ्यांक रहे पनि हेल्थ डेस्क स्थापना नहुँदा जोखिम बढ्दै गएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालको भनाइ छ ।
उता, भारतीय पक्षले भने सीमा नाका सुनौलीमा हेल्थ डेस्कको स्थापना गरी स्वास्थ्य परीक्षण गराएर मात्र पठाउने गरेको छ । यसैगरी पूर्वीनाका काँकडभिट्टामा बुधबारदेखि कोरोना भाइरसको जाँचका लागि ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।
शंकास्पद विरामी तथा धेरै ज्वरो, रुघा र खोकी भएकाहरुलाई जाँच गरेर पठाउने गरिएको जनाइएको छ । कोरोनाको शंका लागेमा काँकडभिट्टा स्वास्थ्य चौकीमा रहेको ‘आइसोलेसन रुम’मा विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको काँकडभिट्टा स्वास्थ्य चौकीका प्रमुख तालबहादुर खड्काको भनाइ छ ।
कञ्चनपुरको सीमानाका गड्डाचौकीमा भने पर्यटकको आवागमन न्यून भएको भन्दै हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छैन । भएका हेल्थ डेक्सलाई प्रभावकारी बनाउनु र नभएका संवेदनशील ठाउँमा व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्