३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कांग्रेसमा उदाए गगन


1.56k
Shares


काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेस युवा नेता गगन थापालाई महामन्त्री बनाएको छ ।

उनी ३०२३ मत ल्याएर कांग्रेसको महामन्त्रीमा विजयी भएका हुन् । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा गर्दै आएका थापालाई अब पार्टीका आफ्नो मुद्दा स्थापित गर्न सहज हुनेछ । उनी खास गरी युवाहरुका माझ लोप्रिय छन् । उनले युवाका मुद्धालाई मात्र होइन सबैका मुद्धा अघि बढाउँछन भन्ने आश कांग्रेस जनमा छ । कांग्रेसको काठमाडौमा भएको १४ औं महाधिवेशनले गगनलाई महामन्त्रीमा चयन गरेको हो । यस अघि कांग्रेसको केन्द्रीय सदस्यमा मात्रै सिमित रहेका थापा अब निर्वाचित महामन्त्री बनेर कांग्रेस हाक्ने ठाउँमा पुगेका छन् ।

नेताहरुको कार्यशैलीका कारण राजनीतिप्रति वितृष्णा बढिरहेका बेला गगनले कांग्रेसका नेता कार्यकर्तालाई मात्रै होइन देशका सबै युवा पंक्तिलाइ पनि आशाको दियो जगाउने अपेक्षा गरिएको छ । थापा सभापतिका उम्मेदवार डा. शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । कांग्रेस सभापतिमा दोस्रो चरणको मतदानमा कोइराला शेरबहादुर देउवासंग पराजित भएका थिए ।

विगतमा स्वास्थ्यमन्त्रीको रुपमा उनले खेलेको भूमिकाको पनि सबैले प्रशंशा गरेका थिए । गगन स्पष्ट र प्रखर वक्ताका रुपमा पनि चिनिन्छन् । संसदमा होस या कहि कतै बोल्दा उनी तर्कसहित प्रस्तुत हुन्छन् र निडर रुपमा आफ्ना भनाई राख्छन् । गगन २०७२ मा कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको तर्फबाट महामन्त्रीकै उम्मेदवार बनेका थिए । तर त्यतिबेला पराजित भएका थिए । अब भने उनी कांग्रेस हाक्ने र भोलि कांग्रेसलाई कस्तो बनाउने भन्ने जिम्मेवारीमा पुगेका छन् ।
को हुन् थापा ?
गगन २०३३ सालमा काठमाडौँमा जन्मेका हुन् । उनका पिताको नाम महेन्द्र कुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । उनी २०४६ सालमा काठमाडौंमा कक्षा ९ मा पढ्दैगर्दा जनआन्दोलनमा लागेका थिए ।उनी विद्यार्थी राजनीतिमार्फत उदाएका नेता हुन् । २०५५ मा उनी त्रिचन्द्र क्याम्पसको स्वबियू सभापति बनेका थिए ।

त्यसअघि २०५१ मा सोही क्याम्पसमा स्वबियू सदस्य भएका थिए । बि.सं २०५९ साल देखि २०६१ सालसम्म गगन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री भएर काम गरे । उनी यो अवधिमा पटक–पटक जेल परिसकेका थिए । माघ १९,२०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि गगन त्यसको विरोधमा लागे उनलाई राजद्रोहको मुद्दा लगाइयो ।२०६२/६३ को जनआन्दोलन पछि गगन कांग्रेसको पार्टी राजनीतिमा सक्रिय बने २०७० मा उनी दोस्रो संविधान सभामा काठमाडौ क्षेत्र नम्बर ४ बाट निर्वाचित भए ।

२०७३ मा स्वास्थ्य मन्त्री बने । त्यसपछि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि सोहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रो सविधान सभामा गगन कृषि तथा जलस्रोत समितिको सभापति समेत बनेका थिए । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले कांग्रेसलाई अघि बढाउने जिम्मा पाएका छन् ।

थापा कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी महामन्त्रीमा निर्वाचित हुँदै गर्दा कांग्रेसमा रहेका पाका नेताहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी छ ।